उपकरण खरिदमा बेवास्ता : वीरमा यूरो र प्रसूतिमा जटिल शल्यक्रिया ठप्प

Share this news

काठमाडौँ — चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा यूरो सर्जरी सम्बन्धी उपकरण नहुँदा चार महिनादेखि शल्यक्रिया ठप्प छ। नारायणी अस्पताल वीरगञ्जमा पनि यूरोलोजी सम्बन्धी विषेशज्ञ चिकित्सक छन्। तर, स्वास्थ्य सेवा विभागले उपकरण खरिदमा ढिलाइ गर्दा शल्यक्रिया हुन सकेको छैन।

स्वास्थ्य सेवा विभागको ढिलासुस्तीकै कारण परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पनि दुरबिनमार्फत गरिने पाठेघरको जटिल खालको शल्यक्रिया सेवा ठप्प छ। मुत्र प्रणालीसँग पत्थरी, मृगौला, पिसाब थैली, प्रोस्टेटलगायतको शल्यक्रिया हुन्छ।

वीरका चिकित्सकहरूका अनुसार २०७४ मा खरिद गरेको यूरोलोजीसँग सम्बन्धित प्रविधियुक्त उपकरण खिएका कारण प्रयोग गर्न मिल्ने अवस्था छैन। नयाँ उपकरणको माग गरिए पनि उपलब्ध नहुँदा सेवा ठप्प भएको हो।

नारायणी अस्पताल वीरगञ्जले पनि दुई वर्षअघि स्वास्थ्य सेवा विभागमा करिब ६ करोड रुपैयाँ बराबरको अत्याधुनिक प्रविधियुक्त उपकरण माग गरेको थियो। अर्थ मन्त्रालयले नारायणी अस्पतालमा यूरो सर्जरीसम्बन्धी उपकरण खरिदका लागि बजेटको समेत व्यवस्था गर्‍यो। तर, विभागले हालसम्म खरिद गर्न सकेको छैन। प्रसूति गृहले पनि एक वर्षअघि स्वास्थ्य विभागसँग ल्याप्रोस्कोपी मेसिन माग गरेको थियो।

वीर अस्पतालका यूरोलोजी विभाग प्रमुख प्रा.डा.रविन बहादुर बस्नेतले यूरो सर्जरी सम्बन्धी उपकरण उपलब्ध गराउन अस्पताल प्रशासनसँग पटक-पटक माग गरेपनि बेवास्ता गरेकाले सेवा बन्द गर्नु परेको बताए।

‘शल्यक्रिया गर्न आवश्यक कतिपय औजारहरू पुरानो भएर खिएका छन्। स्वास्थ्य मन्त्रालयले शल्यक्रियाको पालो कुर्नेलाई तीन महिनाभन्दा बढी मिति नतोक्न निर्देशन जारी गरेको छ,’ उनले भने, ‘यस्तो स्थितिमा कसरी निर्देशन पालना गर्न सकिन्छ ?’

उनका अनुसार अस्पतालमा शल्यक्रियासँग सम्बन्धित सबैभन्दा बढी यूरोलोजीका बिरामी आउने गरेका छन् । ‘यसमा पनि सबैभन्दा बढी पत्थरीका बिरामी छन्। यूरो सम्बन्धी बिरामीको चापकै कारण अन्य अस्पतालमा यूरोलोजीलाई सर्जिकल विभाग अन्तर्गत राखिएपनि वीरमा भने छुट्टै विभाग खडा गरिएको हो,’ उनले भने, ‘प्राय क्यान्सर जस्ता रोग लागेका बिरामीको मात्र चिरफार गरेर शल्यक्रिया गर्ने गरेका छौँ।’

प्रसूति गृहका निर्देशक डा. श्रीप्रसाद अधिकारीले हाल अस्पतालमा भएको ल्याप्रोस्कोपी मेसिन पुरानो भएका कारण सामान्य खालको बिरामीको मात्र शल्यक्रिया गर्दै आइरहेको बताए । ‘मेसिनको स्क्रीन धमिलो देख्ने भएकाले जोखिम मोलेर शल्यक्रिया गर्नुपर्ने बाध्यता छ,’ उनले भने।

नारायणी अस्पतालका निमित्त प्रमुख डा. चित्ररन्जन साहले स्वास्थ्य विभागले बजेट हुँदा हुँदै पनि समयमा सामान खरिद गर्न नसकेकोबारे सम्बन्धित निकायले छानविन थाल्नुपर्ने बताए । ‘यूरो सम्बन्धी सेवा सुचारू गर्न नसक्दा नेपाली मात्र नभई सीमा नाकासँग जोडिएका भारतीय समेत मर्कामा परेका छन्,’ उनले भने, ‘अहिले प्राय बिरामी विना चिरफार प्रविधियुक्त मेसिनबाट शल्यक्रिया गर्न चाहान्छन् । चिरफार नै गरेर शल्यक्रिया गर्नुपर्ने बिरामी निकै कम छन् ।’

अहिले वीर, नारायाणी र प्रसूति गृहले अस्पतालमा यी सम्बन्धित उपचारका लागि आउने बिरामी रेफर गर्नुको विकल्प छैन । कतिपय बिरामी महँगो शुल्क तिरेर निजी अस्पतालमा शल्यक्रिया गराउन बाध्य बनेका छन् । चिकित्सकहरूका अनुसार प्रविधिमार्फत् सरकारी अस्पतालमा शल्यक्रिया गराउँदा २५ देखि ३० हजार रुपैयाँ मात्र लाग्छ भने त्यही प्रविधिबाट निजीमा शल्यक्रिया गराउन कम्तीमा साढे दुई देखि ३ लाख रुपैयाँ शुल्क लाग्छ ।

वीरमा यूरो सम्बन्धी शल्यक्रिया सातामा चार दिन हुन्छ । एक पटक शल्यक्रिया गर्दा सरदर २२ जना गरेर सातामा सरदर ८० जनाको शल्यक्रिया हुने गरेको छ । प्रसूति गृहमा ल्याप्रोस्कोपी पुरानो भएका कारण दैनिक ८–१० जनाको शल्यक्रिया हुने गरेकोमा अहिले २–४ जनाको मात्र हुने गरेको अस्पताल प्रमुख डा. अधिकारीले बताए ।

वीर अस्पतलका प्रशासन प्रमुख सिताराम खड्काले यूरो सम्बन्धी प्रविधियुक्त सामान खरिद गर्न टेन्डर आह्वान गरिसकिएको दाबी गरे। ‘चालु आर्थिक वर्षभित्र खरिद गरिसक्छौं,’ उनले भने । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले टेन्डर एउटा मात्र कम्पनीले हालेको र विना प्रतिस्पर्धा टेन्डर दिन नमिल्ने भएकोले सामान खरिद गर्न नसकिरहेको बताए । ‘यस बारेमा निर्णय गर्न फाइल अध्ययन गरिरहेका छौं,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यूरो सम्बन्धी सामान खरिदमा गर्न टेन्डर आह्वान गर्दा कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने, कहिले मुद्दा पर्ने जस्ता समस्याले समयमा खरिद गर्न नसकेको बताए । ‘विभागले गर्नुपर्ने सबै टेन्डर आह्वान गरिसकेको छ,’ उनले भने, ‘स्वायत्त संस्था जस्तै प्रसूति गृहले सकेसम्म आफूलाई चाहिने मेसिन उपकरण आफैँले खरिद गर्नुपर्छ ।’

यूरो सम्बन्धी रोगको विना चिरफार प्रविधिमार्फत शल्यक्रिया गर्न यूरोडायनामिक्स, रेट्रोग्रेड इन्टर्नल सर्जरी (आरआइआरएस), होलमियम लेजर इन्युक्लियसन अफ प्रोस्टेट (होललेप), लेजर, एक्स्ट्रा कर्पोरल शकवेभ लिथोट्रिप्सी (इइसडब्लुएल) जस्ता प्रविधिको प्रयोग गरिन्छ ।

वीर अस्पतालका युरालोजी विभागका प्रमुख डा.बस्नेतका अनुसार यूरोडायनामिक्स प्रविधिले पिसाबथैली र नलीको अवस्थाबारे पत्ता लगाउँछ । आरआइआरएसले पिसाबको बाटोबाट गई प्वाल नपारीकन मिर्गौलामा भएको पत्थरीलाई लेजरको माध्यमबाट फुटाएर निकाल्छ । होललेपले लेजरको माध्यमबाट प्रोस्टेट निकाल्न सहयोग पुर्‍याउछ ।

वीरका यूरोलोजी विभाग प्रमुख डा.बस्नेतले होललेप गरेपछि दुई दिनमै बिरामी डिस्चार्ज हुन सक्ने बताए । ‘सामान्य काममा फर्कँदा असर हुँदैन,’ उनले भने, ‘यो प्रविधि अपनाउँदा बिरामीलाई रगतको अभाव होला कि भन्ने चिन्ता हुँदैन ।’

उनले लेजर प्रविधिलाई पत्थरी फुटाउन प्रयोग गरिने बताए । ‘ल्याप्रोस्कोपिक सर्जरी भनेको प्वाल पारेर मिर्गौला झिक्ने हो। नलीको क्यान्सर भएमा मिर्गौला, नली र पिसाब थैलीसम्म निकाल्न सकिन्छ,’ उनले भने।


Share this news
आजको रोजाइ
खरसाङमा सांस्कृतिक पर्व असार पन्ध्र पालन

खरसाङमा सांस्कृतिक पर्व असार पन्ध्र पालन

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा असार पन्ध्र पर्व उल्लासपूर्वक मनाइयो

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा असार पन्ध्र पर्व उल्लासपूर्वक मनाइयो

रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जिंत सिंह

रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जिंत सिंह

ई पेन्शन र ई पीएफको लागि हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद

ई पेन्शन र ई पीएफको लागि हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद

एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर एसोसिएशनको नयाँ कमिटी गठन

एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर एसोसिएशनको नयाँ कमिटी गठन

रंगबुलमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन र पोकसोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न

रंगबुलमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन र पोकसोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न

बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरलाई स्थान्तरण गरिएकोमा स्थानीयहरूद्वारा घोर विरोध

बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरलाई स्थान्तरण गरिएकोमा स्थानीयहरूद्वारा घोर विरोध

खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिता शुरु

खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिता शुरु

मध्य बर्खामा पनि खरसाङमा पर्यटकहरू आउँदैछन

मध्य बर्खामा पनि खरसाङमा पर्यटकहरू आउँदैछन

राष्ट्रिय राजमार्ग 55 राष्ट्रिय राजमार्ग 110 भइसकेपछि पनि पुरानो बोर्ड जस्ताको तस्तै

राष्ट्रिय राजमार्ग 55 राष्ट्रिय राजमार्ग 110 भइसकेपछि पनि पुरानो बोर्ड जस्ताको तस्तै

आजको रोजाइ